अन्तरिक्षबाट ५५ वर्षअघि ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री बिल एन्डर्सको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको छ । ९० वर्षको उमेरमा अमेरिकाको वासिङ्टन राज्य बाहिरको समुद्रमा भएको एक विमान दुर्घटनामा उनको मृत्यु भएको हो । उनको शव शुक्रवार प्राप्त भएको एन्डर्सका छोरा ग्रेगले पुष्टि गरेका छन्।
अपोलो ८ अन्तरिक्ष यात्राका क्रममा एन्डर्सले बाह्य अन्तरिक्षमा एउटा निकै चर्चित तस्बिर खिचेका थिए। उनले खिचेको अर्थराइज अर्थात् पृथ्वी उदाउँदै गरेको फोटोलाई अहिलेसम्मकै स्मरणीय र उदाहरणीय फोटो मानिन्छ ।

सन् १९६८ को अपोलो ८ मिसन अन्तरिक्षयात्रीसहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो । चन्द्रमामा सन् १९६९ जुलाई २० तारिखमा पहिलो सफल अबतरण गरेको अपोलो ११ मिशनमा समेत उहाँ ब्याकअप पाइलटका रूपमा रहनुभएको थियो ।
उनको परिवारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ: “परिवार विक्षिप्त अवस्थामा छ। उनी महान् पाइटल थिए। उनको अभाव खड्किनेछ।” अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा सम्बन्धी निकाय एनटिएसबीका अनुसार एन्डर्स टि-३४ का रूपमा समेत चिनिने एक बिचक्राफ्ट ए ए ४५ विमानमा सवार थिए।
सन् १९६९ मा उक्त अन्तरिक्ष कार्यक्रमबाट सेवा निर्वित्त भएपछि एन्डर्सले एरोस्पेस क्षेत्रमा कैयौँ दशक बिताए। सन् १९७० को दशकमा उनी नर्वेका लागि अमेरिकी राजदूतका रूपमा एक वर्ष बिताएका थिए। तर पनि उनी अपोलो ८ मिशन र उनले अन्तरिक्षबाट लिएको प्रतिष्ठित तस्बिरकै कारण सबैभन्दा राम्रोसँग चिनिन्छन्।
