काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश सभा बैठकमा आज (शनिबार) आगामी आर्थिक वर्षको लागि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि भने बजेट आकार १ अर्ब ५० करोड ९७ लाख रुपैयाँले घटाइएको हो। आगामी बजेटमा चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ।

यस्तै वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड रुपैयाँ छुट्याइएको मन्त्री आचार्यले जानकारी दिनुभएको छ । स्रोततर्फ, आन्तरिक राजश्वमार्फत सात अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब एक करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व दुई अर्ब ९२ करोड हुने अनुमान गरिएको छ।

आगामी आर्थिक वर्षभित्र प्रदेश सरकारले कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइने र सिँचाइ तथा विद्युतीकरणमा जोड दिने जनाएको छ।