आर्थिक वर्ष २०८१/८२ का लागि मधेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। शनिबार प्रदेशका अर्थमन्त्री भरत शाहले प्रदेश सभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको ३६.४५ प्रतिशत अर्थात् १६ अर्ब ७ लाख १ हजार चालुतर्फ बजेट विनियोजन गरेको छ। पुँजीगततर्फ ६३.५५ प्रतिशत अर्थात् २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक स्रोतको राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख, चालु आर्थिक वर्षको नगद मौज्दात ७ अर्ब ८६ करोड २१ लाख ७० हजार, अनुदानतर्फ समानीकारण अनुदान ७ अर्ब ७९ करोड, ९२ लाख, शसर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी कुल ११ अर्ब ३५ करोड ७० लाख, संघीय राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड बजेट व्यवस्थापनमा प्रयोग गरिने र कम रहन गएको २ अर्ब न्यून रकम आन्तरिक ऋणबाट व्यवस्थापन गरिने बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षभन्दा २२ करोड २४ लाख ६२ हजारले कम हो।