जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
साथै आज राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीच जर्मनीको बर्लिनमा अवस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको उनले बताएका छन्। सन् १९८६ यता राष्ट्र प्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ।
स्विट्जरल्यान्डको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति त्यहाँ आइपुगेका हुन्।
राष्ट्रपति पौडेल र राष्ट्रपति स्टाइनमायरबीचको भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र अबका दिनमा यो सम्बन्ध अझै घनिष्ठ हुनेमा विश्वस्त रहेको व्यक्त गर्नु भएको पोखरेलले बताएका छन्।




