नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजी कार्यका लागि भारतबाट खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भारत सरकारको न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि सुनौली नाका हुँदै नेपाल भित्रिएको र घटनास्थलमा पुगि खोजी कार्य सुरु गर्ने बताए । उनीहरू पानीमुनि खोजतलासमा प्रयोग हुने उपकरण लगायत सेट सहित आएका छन् पोखरेलले बताए।
नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको उनको भनाइ छ। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत भारतीय उद्धार टोली पठाउन आग्रह गरेको थियो।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञ सहितको उद्धार टोली मगाउन परराष्ट्र मार्फत पत्राचार गरिएको थियो। सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो।
यही असार २८ गते बिहान साढे ३ बजे वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेको थिए।
बसमा सवार ६५ जनामध्ये तीन जना पौडी खेलेर जोगिएका थिए भने अन्य ६२ जना हराएका थिए। उनीहरूमध्ये शनिबार बिहानसम्म २३ जना मृत भेटिएका छन् भने अझै ३९ यात्रु हराइरहेका छन्।
