संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ अमेरिकाको न्युयोर्कमा आजदेखि शुरू हुँदैछ।

राष्ट्रसङ्घको महासभा आजदेखि सुरु हुनेभए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछन्। उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ। नेपालको तर्फबाट महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असोज ५ गते अमेरिका जाने तयारी छ।

असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको तर्फबाट सक्रिय सहभागिता हुनेछ। समिटमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिको सहभागिता रहने छ। समिटमा विश्वको राज्य व्यवस्थामा देखिएको गम्भीर चुनौतीहरू र त्यसका समाधानको बारेमा छलफल हुने जनाइएको छ।

त्यस्तै, प्रधानमन्त्री ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ।महासभामा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू तथा मन्त्रीहरूले विश्वव्यापी रूपमा देखापरेको शान्ति, सुरक्षा, कोरोना पश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कट लगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफल गरी विश्वव्यापी चुनौतीको समाधान खोज्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *