नेपाल राष्ट्र बैंकले यसपटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बडादशैँमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो।

“नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ।” सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्ने राष्ट्रबैंकले जनाएको छ।

विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिला वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ।  सुकिला नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो।

विगतका दशैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन्। ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रँने तथा कुहिने अवस्था सिर्जना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हुने भन्दै राष्ट्र बैंकले चलनचल्तीकै सुकिलो र सफा नोट साट्न लागेको हो।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ। मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७-६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो।

मुलुकी अपराध संहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसूरसम्बन्धी व्यवस्था गरिएको छ। दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था रहेको छ। नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङ्ग लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्यगरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउने उपर कारबाही गर्न सकिने व्यवस्थासमेत रहेका छ।

यति त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ। त्यस्तै अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *