प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।

विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैँसे’ मिलाउन सबैलाई आह्वान गर्नुभयो। “जो जहाँ छौ, पीडामा परेकाहरूको पिडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दशैं टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ। “विपद्को घडीमा यति बेला मेरो मन भारी भइरहेको छ। भारी मनकासाथ दशैंको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “दशैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरूले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनः स्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन समेत आग्रह गर्नु भएको छ। “प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउँछौँ। भत्किएका घरहरू पुनः निर्माण गरी हस्तान्तरण गर्नेछौ। यसप्रति आश्वस्त रहँदै, सबैलाई दशैं मनाउन र मिल्नेहरूले टीका लगाउन म आग्रह गर्न चाहन्छु।” 

उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह गर्नुभयो । “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरूको आशु पुछ्ने, उहाँहरूको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनः निर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवतजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”