डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काटेको छ। बिहीबार बेलुकी ८ बजेदेखि उद्योगहरूको लाइन काट्न थालेको हो।

प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (बिहीबार) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो। ​उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकारण स्रोतले जनायो।

किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न शुरु गरेका पाँच उद्योग र अदालतबाट अन्तरिम आदेश पाएको एउटा उद्योगबाहेक सबै उद्योगको लाइन काटिएको छ । घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, ​ घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको एक व्यापारीले जानकारी दिए।

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे निर्णय गर्न हिजो बिहान प्राधिकरणको सञ्चालक समितिको बैठक बसे पनि निष्कर्षविहीन भएको थियो । बैठक निष्कर्षविहीन भएपछि प्राधिकरणले बेलुकादेखि उद्योगको लाइन काट्न थालेको हो ।

बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन नकाट्न भनिएको भएतापनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्री खड्कालाई बिजुली नकाट्ने हो भने मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने बताउनुभएको थियो ।

डेडिकेडेट फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भइरहेको छ ।