सहकारी ठगी, संठगित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौँ ल्याइँदैछ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा थप बयानका लागि आज पोखराबाट काठमाडौँ ल्याउन लागिएको हो। उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई आज काठमाडौँ ल्याउन लागिएको हो। स्वर्ण लक्ष्मी सहकारीका अध्यक्ष जीबी (गीतेन्द्रबाबु) राई, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व डीआईजी छबिलाल जोशीसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौँस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरू माथि छ।
