जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन्। आइतबार भएको स्थानीय तहको उपचुनावको मत परिणामअनुसार माओवादीकी देवका लामिछाने ४ हजार दुई सय ७२ मत ल्याउँदै निर्वाचित भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्। एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाइन्। 

२०७९ मा भएको निर्वाचनमा नलगाडको उपप्रमुख नेपाली कांग्रेसले जितेको थियो। कांग्रेस-माओवादी गठबन्धनबाट उपाध्यक्ष पाएको कांग्रेसले यसपटकको चुनावमा आफ्नो विरासत जोगाउन सकेन।

गठबन्धनको भागवण्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो। यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता सिंहको १७ कात्तिक २०७९ को भूकम्पमा परी मृत्यु भएको थियो।

कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन् । बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन् । १३ वटा वडामध्ये माओवादीले पाँच, कांग्रेसले चार, एमालेले तीन र एक स्वतन्त्रले जितेका थिए ।

नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा थिए । जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *