राजावादीहरूले चैत्र १५ गते गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा छिरेर तोडफोड र लुटपाट गर्नेहरूसँग प्रतिकार गरेका एक सुरक्षा गार्डलाई कम्पनीले पाँच लाख एक हजार एक सय एघार नगद पुरस्कारसहित सम्मान गरेको छ।

भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर ‘बहादुरी’ देखाएपछि उनलाई सम्मान गरिएको हो।

उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीको योगदानलाई उच्च कदर गर्दै ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवासहित सम्मान गरेको हो। पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

यस्तै समारोहमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायतका अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो।

भाटभटेनी सञ्चालक गुरुङले सम्मान समारोहमा बोल्दै राजावादीले भाटभटेनीमा धावा बोलेर लुट्ने काम गरेको निकै खेदपूर्ण रहेको बताएका छन्। गुरुङले भने-‘दुर्गा प्रसाईँ गुण्डा नाइके हो, भाटभटेनीमा ढुंगा हानेर राजसंस्था फर्किँदैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *