प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन्। तत्पश्चात् बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।
सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ। यी सबै कार्यक्रमहरू बैंककस्थित होटेल साड्ग्रिलामा हुनेछन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन्।
बिमस्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।
बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक स्थापना हुँदा भने बिस्टेकको रुपमा भएको थियो। सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमार्फत यो संगठन स्थापना भएको थियो। त्यसबेला बंगलादेश भारत श्रीलंका र थाइल्याण्ड यसका सदस्य थिए।
सोही वर्ष डिसेम्बर २२ मा थाइल्याण्डमै आयोजित मन्त्रीस्तरीय बैठकले संगठनमा म्यानमारलाई सदस्यका रुपमा थप गरेको थियो भने नाम पनि बिमस्टेक बनाएको थियो। तर यसको नाम अहिलेको जस्तो थिएन। यसलाई बंगलादेश, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड आर्थिक सहयोग भनिन्थ्यो।
सन् २००४ फेब्रुअरीमा थाइल्याण्डमा सम्पन्न छैटौ मन्त्रीस्तरीय बैठकबाट नेपाल र भुटानले पनि बिमस्टेकको सदस्यता प्राप्त गरे। यसपछि यस संगठनलाई अलि फरक रुपमा हेर्न थालियो। नाम पनि पुनःपरिवर्तन भयो। र भनियो बे अफ बंगाल इनिसिएटिभ फर मल्टीसेक्टरल टेक्निकल एण्ड इकनमिक कोअपरेसन। नेपालीमा यसलाई बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भनिन्छ।
