राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ। शुक्रबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो।

लामिछानेलाई यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थलमा ल्याइ पुर्‍याइएको हो।अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन्।

जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ। उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए। बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।