नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो। पन्त नेकपा एमालेका समानुपातिक सांसद हुनुहुन्छ। गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
यता विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन्। तीन साता यता शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन्।
उनीहरुले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन्। सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ। शिक्षकका मागहरु बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरुको अडान छ।
शिक्षकहरुको आन्दोलका कारण वैशाख ११ गतेबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ। सरकारले वैशाख महिनाभित्र शिक्षकहरुको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ। तर शिक्षकहरु सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन्। यस्ताे बेलामा शिक्षा मन्त्रीकाे जिम्मेवारी पन्तले सम्हालेका छन्। उनले आन्दोलनरत शिक्षकसँग वार्ता गर्न सक्लान ?

