नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको निधन भएको छ। लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ११ बजे निधन भएको हो।
विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय डंगोल काँग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए। नेपाली राजनीतिमा जुझारु नेताका परिचय बनाएका डंगोल वि.सं. २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए ।
उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ। उनको पार्थिव शरीर उनकै निवासमा राखिएको बताइएको छ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने उनको परिवार स्रोतले जनाएको छ।
