बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएको छ। मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ।
अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताए।
‘अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘आगलागीबाट स्टोर कक्ष, फार्मेसी लगाएत केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्।’
शनिबार भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरु नरहेकाले मानवीय क्षति हुन नसकेपनि भौतिक क्षति भने ठुलो परिमाणमा भएको अस्पतालले जनाएको छ।
मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाहले बताउनुभयो।
क्षतिको विवरण संकलन भइरहेकाले आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने डा. सुवेदीले बताए।
