यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरणको घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए।

उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक यही १६ गते मङ्गलबार बोलाएको छ। बेलुका ६ बजे मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आ–आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरूलाई सूचित समेत गरेको छ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने पार्टी एकता घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका सदस्यहरूसहित उपस्थित हुन जनमतले आमन्त्रण गरेको हो। एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरूले बताएका छन्।

नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ। एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन्।

दुवै पार्टीका बिचमा एकता भइसकेपछि पूर्वको कमान्ड सिके राउतले गर्नेछन् भने पश्चिमको कमान्ड रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ। पूर्वी मधेसमा सिके राउतको पार्टी बलियो छ भने पश्चिम मधेसमा रेशम चौधरीको पार्टी बलियो छ।

वि.सं. २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र वि.सं. २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए। पार्टी एकता भएपछि सङ्घीय संसदमा जनमत पार्टीको १० सिट हुनेछ। हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *