भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्।
बिहीबार साँझ कम्युटर साइन्समा प्रथम वर्ष अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको त्यही कलेजमा दोस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले बताए। प्रिसा वीरगञ्जनिवासी हुन्। उनी होस्टलमै मृत फेला परेको र अहिले प्रहरीले छानबिन गरिरहेको उनले जानकारी दिए। उनी इन्टरनेसनल होस्टलमा बसिरहेकी थिइन्।
नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकारले आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारीमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको हो। घटनाका विषयमा समन्वय गरिरहेको उल्लेख गर्दै परराष्ट्रले परिवारप्रति समवेदना व्यक्त गरेको छ।
त्यस्तै, भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले विज्ञप्ति निकाल्दै उचित अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेको छ ।
यसअघि, केआईआईटीमामै अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी रूपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन्। आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्। कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन्।
प्रकृति लम्सालको मृत्युको घट्नामा एक जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको छ। त्यस घटनापछि ओडिसा राज्य सरकारले उच्चस्तरीय समिति बनाएर घटनाको छानबिन गरेको थियो।
प्रकृतिको घटनापछि अर्का एक तृतीय वर्षमा अध्ययनरत भारतीय विद्यार्थी पनि मृत फेला परेका थिए।
