नवलपरासीमा एकै घरका दुई बालकको पोखरीमा डुबेर ज्यान गएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुवँरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो।
मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिनुभयो। शुक्रबार साँझ पोखरीमा एक बालक तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उनीहरू पौडी खेल्नेक्रममा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनीहरु जनसेवा माध्यमिक विद्यालयमा कक्षा ४ र कक्षा २ मा अध्ययनरत थिए।
घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
