भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार पाकिस्तानमै उत्पादन भई भारत आउने सबै वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको छ।
जम्मु–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावकाबीच भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको बीबीसी हिन्दीले जनाएको छ।
अप्रिल २२ तारिखमा जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाबाट नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको घटनापछि दुवै देशले एक अर्काका कुटनीतिक अधिकारीहरूलाई फिर्ता बोलाएका छन् भने एक अर्काको आकाशमा उडानसमेत प्रतिबन्ध लगाएका छन्।
घटनाको भोलिपल्टै भारतले सिन्धुल जलसम्झौता निलम्बन गर्ने निर्णय गरेको थियो। जबाफमा पाकिस्तानले पनि सिमला सम्झौता निलम्बन गर्ने निर्णय गरेको छ।
