राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनको हिरासतपछि बुधबार रिहा भएका छन्। गएकाे चैत १५ गते राजावादीहरूले काठमाडौँकाे तीनकुने क्षेत्रमा गरेकाे प्रदर्शनमा संलग्न भएको आरोपमा मिश्रलाई पक्राउ गरिएको थियो।

प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसुरमा अनुसन्धान गरेको थियो। मिश्रमाथि गएकाे मङ्गलवार ८ औं पटक थप ५ दिन म्याद थप भएकाे थियाे।

हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले ४८औँ दिनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।

‘चैत १५ मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यो कसैको नियोजित योजना थिएन, तर आन्दोलन ठुलो हुँदा नियन्त्रण बाहिर जान्छ। ०६२/०६३, थारु र मधेस आन्दोलन हेर्दा पनि यस्तै भएको थियो,’ मिश्रले भने। उनले सधैँ शान्तिपूर्ण र नवीन समझदारीको पक्षमा रहेको उल्लेख गर्दै रिहाइ भए पनि खुसी हुने अवस्था नरहेको बताए।

मिश्रले आफूमाथिको मुद्दा अझै बाँकी रहेको र राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाको माग राखेको स्वीकार गरे। ‘मैले सङ्गठित अपराध वा उपद्रव गरेको छैन। राज्य म विरुद्ध लागेको स्पष्ट छ। म न्यायका लागि लडिरहन्छु।” यो राजनीतिक आन्दोलन हो,’ उनले भने।