नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्।शनिबार लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो।

घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले बताउनुभयो। घाइते हुनेमा बेंसीशहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दल क्षेत्रीय सभापति खुशीजंग गुरुङ, पार्टी जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलकै शंकर सापकोटा रहेका छन्। घाइते गुरुङलाई काठमाडौं र अधिकारीलाई भरतपुर रेफर गरिएको छ।

टाउकोमा चोट लागेको र सिटीस्क्यान गर्नुपर्ने भएपछि उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो। बाँकी २ जना प्रादेशिक अस्पताल लमजुङमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो।

पूर्णकालीन सदस्यता वितरणमा धाँधली भएको, प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै इतर समूहका युवाले अधिवेशनको मञ्च अगाडि उभिएर विरोध गरेका थिए। उनीहरूले अधिवेशन स्थगित गर्न माग गरेका थिए। त्यसपछि संस्थापन पक्षका युवाले इतर समूहलाई कुर्सी प्रहार गरे। इतर समूहका युवा भाग्दा अधिवेशन स्थल बाहिर खुकुरी प्रहार भएको हो।

अधिवेशन जेठ १० सम्मका लागि स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *