आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। ‘जेन जेड’ आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मङ्गलवार ध्वस्त भएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना निकालेर सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि संसद् बैठक स्थगित गरेको जानकारी दिनुभएको छ।
‘जेन जी’ को आन्दोलनका कारण प्रधानमन्त्रीले राजीनामा दिएको तथा राष्ट्रपति र सेनाले वार्ताका लागि आह्वान गरेकाले राजनीतिमा नयाँ दृष्यहरू देखिन थालेका छन्। आन्दोलनकारीहरूले संसद् विघटनको समेत माग राखेको र आन्दोलनकारीले पुराना दलका नेता लक्षित आक्रमण गरेका कारण पनि संसद् बैठक अनिश्चत बनेको छ।

