माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन्।

यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो। एसईईको पूरक परीक्षा गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको थियो।

नतिजा कसरी हेर्ने?

विभिन्न संस्थाको website, IVR र SMS / USSD मार्फत, राष्ट्रिय परीक्षा बोर्डको Website www.neb.gov.np र पनिका कक्षा १० को Website www.see.gov.np बाट नतिजा सहजरूपमा हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। संस्थाहरूको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website see.gov.np मा राखिएको छ। नेपाल टेलिकम, पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको website बाट परीक्षार्थीको सिम्बोल नं र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोड समेत गर्न सकिनेछ।

ग्रेडिङ सम्बन्धि व्यवस्था

लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ अंक, ५० पूर्णांकका विषयमा कम्तीमा १८ अंक र आन्तरिक ५० पूर्णांकमा कम्तीमा २० अंक, २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ।