राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार पूर्वसांसदहरूले सकेसम्म चाँडो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नुपर्ने जनाएको हो।
जेनजीको अगुवाइमा भएको आन्दोलनपछि रास्वपाका सांसदहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका थिए। त्यसपछि पूर्वसांसदलाई सांसदको हैसियतमा प्रयोग हुने परिचयपत्र तथा कूटनीतिक पासपोर्ट बुझाउन आग्रह गरिएको हो।
आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएकोले राष्ट्रिय शोकको अवस्था रहेको पनि रास्वपाले बताएको छ। यसैले यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्ने राश्वपाले जनाएको छ ।
यसअघिको प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद थिए । यस्तै विज्ञप्तिमा सबै तहका नेताहरूले चाडपर्वका बेला शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न पनि भनिएको छ।
