असोज १८ को भीषण वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडक खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा ठप्प छ।

सडक डिभिजन इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीले एक हप्तादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि सडक खुल्न सकेको छैन। ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको रसडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो।

सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको र पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा उपकरणको प्रयोग गरेको भट्टराईले जानकारी दिनुभयो। मर्मत नहुन्जेलसम्म यो सडक सञ्चालनमा रोक लगाइएको छ।

झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ। तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन्। इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने गाडी राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने गाडी माईखोलामा रोकिएका छन्।

इलाममा बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार ती घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक क्षतिग्रस्त भएका बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *