हमास लडाकु समूहको गाजामा बन्धक बनाएका मध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।
यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी नाम पनि उल्लेख गरेको छ।
जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुगेका थिए। उनि गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ।
इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका थिए। जसअनुसार हाल सो सम्झौता कार्यान्वयनको चरणमा रहेको छ।
दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन्। तीमध्ये केहीको ज्यान गएको अनुमान छ। हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन्। त्यसैक्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको हो।
अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो। विपीनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ। उनको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिल समेत गरेको थियो।
युद्धविरामको सम्झौता पूर्णरूपमा कार्यान्वयन भए हमासको नियन्त्रणमा रहेका बन्धकहरु रिहा हुनेछन्।
बुधबार राति मात्र विपिनको पुरानो भिडिओ सार्वजनिक गरिएको थियो।
