श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज (असोज २६ गते) देखि सर्वसाधारणका लागि आइपीओ (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ।

यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि दोस्रो चरणमा निष्काशन थालेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

यसमध्ये पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकिएको छ। साथै, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूलाई वितरण गरिसकिएको छ।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्न लागेको हो।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आइपीओ निष्काशन असोज २९ गतेसम्म खुला रहनेछ भने आवश्यक आवेदन नपरेमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *