प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले आजको बैठक आगामी निर्वाचनलाई सफल बनाउने र हालैको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने विषयमा केन्द्रित रहेर छलफल हुने बताए।
बैठकमा जेन-जी आन्दोलनको नेतृत्व गरेका करिब ८-९ वटा समूहका प्रतिनिधिलाई निम्तो दिइएको छ भने राजनीतिक दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ।
उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए। यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए।
आजको बैठकलाई राजनीतिक गतिरोध अन्त्य गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
