नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा अब महाधिवेशनको स्थल परिवर्तन गर्दै काठमाडौँमा सोही मितिमा नै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय गरिएको छ। ६ लाख ६७ हजार पार्टी सदस्य रहेको एमालेले मंसिर १३ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ।
त्यसरी छनोट भएका प्रतिनिधि मंसिर १५ भित्र पठाइसक्नुपर्ने छ। प्रतिनिधि छनोटका लागि एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, १ महिला र एकजना ४० वर्षमुनिका युवा गरेर एक क्षेत्रमा ४ जना प्रतिनिधि छनोटको अनुपात तय गरिएको छ।
न्यूनतम एकतिहाइ महिला छनोट हुनेछन् भने त्यसमा हरेक ८ सय सदस्य थपिँदै जाँदा १ जना महिला थपिने पनि एमालेले जनाएको छ।
