सरकारले मधेश प्रदेश सरकार प्रमुख सुमीत्रा भण्डारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्दै सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारले मधेस प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि सिफारिस गरेको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेश मामलाका जानकार कर्णलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको दाबीको लागि आह्वान नै नगरी बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। उनले यादवलाई ठूलो दलको हैसियतमा नियुक्ति गरेको बताएकी छन्।
आइतबार राति भण्डारी उपचार गराउने भन्दै काठमाडौं हिँडेकी थिइन्। तर उनले बाटैको होटलमा संघीयताकै बदनाम गरेको भन्दै चर्को आलोचना भइरहँदा अन्तरिम सरकारले उनलाई नै बर्खास्त गरिदिएको हो।
