बर्दिया । बारबर्दिया नगरपालिकाले यहि फाल्गुन १७ गते आ व २०७९।०८० को सामाजिक परीक्षण सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। बारबर्दिया नगरपालिकाको आयोजना परिमार्ग भिडिया सेन्टर गुलरिया बर्दियाको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम २०१ (१) बमोजिम स्थानीय निकायहरुले एक आर्थिक वर्षमा समग्रमा सामाजिक जिम्मेवारी पुरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्ने कार्यलाइ व्यवस्थित गर्न स्थानीय निकायको सामाजिक परीक्षण गर्न शुरु गरिएको हो।

आ व २०७९।०८० मा यस बारबर्दिया नगरपालिकाले निर्धारण गरेको नीति तथा कार्यक्रम अनुरुपको सामाजिक जिम्मेबारी, त्यसलाइ पालना गर्न गरेको प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्ने उद्देश्यले यस कार्यक्रम आयोजना भएको थियो ।

नगरपालिकाले गरेका नीतिगत निर्णयमा प्रकृयागत सुधारले पारको प्रभावहरु, सेवा सुविधा दिन नसकेको अवस्थामा जनताले भोग्नुपरेका समस्याहरु, नगरपालिकाले पेश गरेको विवरण प्रति नागरिकको विश्वसनियता, बालबालिका, महिला, दलित, जनजाति, गरिब, जेष्ठ नागरिक तथा पिछाडिएको वर्गलाइ मुलधारमा ल्याउन गरेका प्रयासहरुको प्रभावकारीता, स्थानीय निकायले दिएको सेवाको गुणस्तर,दस्तुर,सेवा दिन लगाएको समय र कार्यसम्पादनको स्तर, नगरपालिकाले गरेका विकास योजनाहरुमा जनसहभागिताको स्थिति, सामाजिक उत्तरदायित्व पुरा गर्न स्थानीय निकायको वर्तमान कार्य तथा कार्यशैलीमा सुधार ल्याउन सुझाबहरु लगाएका विषयहरु खुला छलफलका एजेण्डाहरु रहेका थिए।

नगरपालिकाका सम्पूर्ण स्रोत र साधनको उच्चतम प्रयोग गर्दै सुशासन कायम गरिने नगर प्रमुख छविलाल थारुले बताउनु भएको छ । नगरबासीहरुका आवश्यकताहरुको प्राथामिकताक्रम निर्धारण गर्दै विकास गरी बारबर्दिया नगरपालिकाले तय गरेको नारा कृषि, उद्दोग र पर्यटनमा वृद्धी: बारबर्दियाको समृद्धि हासिल गर्ने तर्फ हामी लागिरहेको नगरपालिका उपप्रमुख रत्न कुमारी पाण्डेले जबाफ दिनु भयो । संघीयताको मुल मर्म अनुरुप नै कार्य गरिरहेका छौ कतिपय कुराहरु कानून र कार्यविधीका कारण हामीबाट पनि संभव नहुने कुराहरु रहेका छन् नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जवाफदिने क्रममा बताउनु भएको छ।

