चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेश गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ।

सदर मत मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ जना सांसदको सूची हिजो आयोगमा पेश गरेको छ। यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर पेश गरेका छन्।

क्लस्टर अर्थात् समावेशी समूह अनुसार सूची मिले/नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। दलहरूले बुझाएको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ।

दलहरूले समावेशी समूहअनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा मिलाएर पठाउन फेरि समय दिनुपर्ने आयोगको भनाइ छ। सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ।

समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार बनाउने बाटो खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *