निर्वाचन आयोगले यही चैत्र ५ गते बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदलाई यही चैत्र ५ गते बिहान ११:३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ।

आयोगले राजनीतिक दलकोतर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण मंगलबार नै उपलब्ध गराइदिन आग्रह गरेको छ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।