पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ।
शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले ओलीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो। गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत्र २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार मन्त्रिपरिषद्ले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेको छ।
जेनजी प्रदर्शनको क्रममा ७६ जनाको मृत्यु भएको थियो।
