मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन्। प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन्।

बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए। ३० जना सांसद उपस्थित भएकोले एकजना कांग्रेसबाट र अरु सबै रास्वपाबाटै निर्वाचित हुन्। १२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए। बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो।

छलफलमा सहभागी सांसदहरुका अनुसार, बालेनले करिब डेढ मिनेट बजेटअघि आफूले सांसदहरुलाई त्यसमा समेट्नुपर्ने विषयबारे बुझ्न खोजेको बताएपछि सांसदहरुले क्रमश: आफ्नो भनाई राख्न थाले। सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका समस्याहरू राखेका थिए।

अधिकांश सांसदले दोहोर्‍याएर उठाएका मुख्य मुद्दाहरूमा सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सडक–पुल जस्ता पूर्वाधार निर्माण, चुरे संरक्षण, मिटरब्याज समस्या र कोभिडकालमा बन्द गरिएका साना भन्सार (छोटी भन्सार) पुन: खोल्ने तथा सीमा व्यवस्थापनका विषय थिए।

यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरिसक्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *