गुण्डागर्दीमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आपराधिक पृष्ठभूमिका व्यक्तिलाई गएराति पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ। आरोपीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। पक्राउ पर्नेमा धेरै ‘काभ्रेली समूह’मा आबद्ध गुन्डाहरू छन्।

पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन् । सुरेश गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन्। सिन्धुपाल्चोक घर भएका श्याम लामा फरार छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जना पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन्। प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध रहेर बौद्ध क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकृतहरू बताउँछन्।

बिर्जु महर्जन कलंकी र बाफल क्षेत्रमा सक्रिय गुण्डा हुन्। सुजन कार्की कलंकी क्षेत्र र हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए।

यस अघि प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो।