थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैंककको जेलबाट पेरोलमा रिहा भएका छन्। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन्।
दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सोमबार बिहानै जेलबाट रिहा भएका हुन्।
उनको स्वागतका लागि बैंककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए। थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई पारिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए।
त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भएका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका उनले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहेनन्।
दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए।
हालसालै, न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उनको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ। रिहाइपछि आगामी चार महिनासम्म उनलाई निगरानीमा राखिने बताइएको छ।
उनीहरूले बैंककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ।
