आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्। उक्त विधेयक यही साउन १ गतेदेखि लागू हुनेछ।
त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्चको न्युन अवस्था र प्रस्तावित करका दरहरूका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पुँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दाबी गर्नुभयो। पुँजीगत खर्च बढाउन रकमान्तरकाे अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्वतयारी कडाइका साथ लागू गर्ने उहाँको भनाई छ।
