प्रतिनिधिसभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो।
उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए। ‘विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेको हुन्छन्’, उनले भने, ‘तर, ऋण लिएर निर्माण गरिएको दुई वटा अन्तरराष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ।’
सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राख्नुभएको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको थियो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए।
