लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १:०० बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने को सम्भावित कार्यसूची सार्वजनिक गर्दै प्रदेश सभा सचिवालयले जानकारी गराएको हो।

सम्भावित कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउने छन्। त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने छन्।

मुख्यमन्त्रीले प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

लुम्बिनी प्रदेश सभामा कुल ८३ प्रदेशसभा सदस्य छन्। सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ। 

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन्। नेपाली काँग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *