मकवानपुर । हेटौँडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याललाई प्रहरीले कार्यलयबाटै पक्राउ गरेको छन् । अर्याललाई बुधवार प्रदेश सभा सचिवालयबाटै जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा मकवानपुर प्रहरीले पक्राउ गरी जिम्मा लगाएको हो ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । उक्त आरोपका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङका नाममा र चिनियाँ नागरिक दावाजिन वाङले पासाङ तामाङका नाममा वंशजका आधारमा नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएर लिएको अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा नासु पदमा कार्यरत रहेका थिए ।
नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।
