काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छन् ।

सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरूलाई जनही नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागत रूपमा बोर्डमार्फत आवश्यक सल्लाह सुझाव मन्त्रालयमा पठाउन समेत आग्रह गरेकी छन् । 

मन्त्री शर्माले आउँदो दिनहरुमा महिला चलचित्रकर्मीलाई उत्प्रेरित एवम् प्रोसाहित गर्नका लागी सम्मान कार्यक्रमका साथसाथै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिनु पर्ने सुझाव दिइन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भने, ”हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ ।’