काठमाडौँ । देशका पहाडी जिल्लामा आज फागु अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ खेली मनाउने परम्परा छ ।

होली पर्वको अवसरमा आज सरकारले पहाड र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइँदैछ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रममा कमी आएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

होलीका अवसरमा आज काठमाडौँको वसन्तपुरमा रङ्गीचङ्गी बनाइ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउँने परम्परा छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधीउपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।