काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
संविधानको धारा १०० को उपधारा (२) अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान रहे बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेको हुन् ।
फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । अहिले सत्ता गठबन्धनसँग १५२ रहेको देखिन्छ। जस अन्तरगत प्रतिनिधि सभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन्।
तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उनले पनि मत दिन पाउने छैनन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।
अहिले ८८ सिट रहेको नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ । ४ सिट रहेको लोसपाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत नदिने सङ्केत गरेको छ । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले निर्णय गर्न बाँकी छ ।
