काठमाण्डौ – आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गएको थियो ।

नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न उतैबाट बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले ‘होम’ र ‘अबे’ दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

नेपाल विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको र यसअघिका दुई खेलमा हार व्यहोरेको थियो । जसमा पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।