काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई आज शपथ गराउनु भएको हो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङलाई भौतिक पूर्वाधार मन्त्री बनाउनुभएको थियाे । हिजो नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै गुरुङले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।
२०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका गुरुङ केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङले बताउका छन् । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्नेमा सांसद गुरुङको समर्थन पश्चात बहुमत पुगेको हो ।
