काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयहरुमा विभिन्न वाहानमा पदाधिकारी र कर्मचारीले खानेगरेको बैठक भत्तामा अनिमितता भएको रोक्न सुझाव सहित आवश्यक निर्देशन दिएको छ। 

आयोगमा परेको उजुरीको अनुसन्धान गर्दा कतिपय सरकारी तथा सार्वजनिक निकायमा बिदा वा काजमा रहेको अवधिमा पदाधिकारी/कर्मचारीहरु कार्यालयको बैठक वा अन्य निर्णय प्रकृयामा सहभागी हुने र बैठक भत्ता लिने कार्य भइरहेको बताउँदै पत्रमार्फत रोक्न सरकारका निकायलाई निर्देशन दिएको हो।

आयोगले २०८० फाल्गुन २१ गते च. नं. ४७५३० मार्फत उक्त निर्देशन विभिन्न मन्त्रालयहरुमा पुगेको छ। अख्तियारले यो व्यवस्था अनिवार्य रुपमा लागु गर्न भनेको छ।

बैठक भत्तामा देखिएका विकृतिविरुद्ध अख्तियारमा उजुरी बढेपछि रोक्न निर्देशन दिइएको हो । बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी गराउने कार्य प्रचलित कानुनको विपरित भइ अनियमित कार्य हुने भन्दै अख्तियारले सचेत समेत गराएको हो ।

कार्यालय सञ्चालन भएको दिन र कार्यालय समयमा पनि कार्यालय समय भन्दा फरक विहान/बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पत्रमा उल्लेख गरेको छ ।