काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । कुटपिटबाट प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी टाउकोमा चोट लागेको र जोगबुढा अस्पतालमा उनको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।
माओवादी पक्षधर कार्यपालिका सदस्यहरूले कुर्सी प्रहार गरेपछि प्रशासकीय अधिकृत जोशी घाइते भएका हुन् । कार्यपालिका सदस्यहरूले पालिकाका कुर्सी तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
परशुराम नगरपालिकामा पटक-पटक कांग्रेस पक्षधर जनप्रतिनिधि र माओवादी पक्षधर जनप्रतिनिधिबीच विवाद हुँदै आइरहेको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
